पूर्व भलिबल खेलाडि चौधरीद्धारा भलिबल प्रशिक्षण केन्द्रलाई सहयोग

फेवाटेलिभिजन, माघ १२ । पूर्व अन्तराष्ट्रिय भलिबल खेलाडि जयनारायण चौधरीले पोखरामा निर्माणाधिन क्षेत्रियस्तरको भलिबल प्रशिक्षण केन्द्रका लागी १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ । कास्की जिल्ला भलिबल संघले आयोजना गरेको रकम हस्तान्तरण कार्यक्रममा चौधरीले कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
भलिबल खेलको नेपालको खस्कदो अवस्थाले दुःखी बनाएको बताउदै पोखरामा प्रशिक्षण केन्द्र बन्न लागेकोमा केही गरौ भन्ने उद्धेश्यले आर्थिक सहयोग गरेको चौधरीले बताउनुभयो । हङकङमा बस्दै आउनुभएका चौधरीले भलिबल खेलका लागी हङकङबाट आवश्यक सामाग्री उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्दै केन्द्रका लागी रकम संकलन समेत गर्ने बताउनुभयो । चौधरीले सन १९७७ मा चिन र १९७८ रुसमा मैत्रीपूर्ण खेल, सन १९७८ बैकमा आठौ एशियाली, १९८२ मा पाकिस्तान मैत्री र १९८३ मा तेस्रो एशियन खेलमा नेपालको तर्फबाट सहभागी हुनु भएको थियो । सोही कार्यक्रममा बुल्समेन पोखराको तर्फबाट अध्यक्ष नुना गुरुङले पनि १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
रकम हस्तान्तरण कार्यक्रमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्तबहादुर गुरुङले प्रशिक्षण केन्द्र निर्माणले भलिबल खेलको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउदै राखेपबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पूर्वाधार, प्रशिक्षण प्रतियोगिता विना पदकको आशा गर्न नसकिने बताउदै भलिबलका लागी प्रशिक्षणका केन्द्र निर्माणले गुमेको साखलाई फकाउने विश्वास ब्यक्त गर्नुभयो । कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीले प्रशिक्षण केन्द्र सवै खेलप्रेमीको भएकाले सहयोगको लागी आग्रह गर्नुभयो ।

You might also like More from author