प्रारम्भिक मतगणनाको रुझानः एमालेको अग्रता, कांग्रेस दोस्रोमा पछ्याउँदै

जेठ,१ काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि धेरै स्थानमा आइतबार रातिदेखि नै मतगणना शुरु भएका छन् । काठमाडौं, भरतपुर, पोखरा लगायतका ठूला महानगरपालिकामा गणना अझै शुरु भएको छैन ।

विभिन्न जिल्लाहरुबाट प्राप्त प्रारम्भिक मतगणनाको रुझान हेर्दा एमालेले शुरुवाती अग्रता लिएको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा एमालेलाई पछ्याउँदै छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । अग्रताको हिसाबले चौथो ठूलो दल राप्रपा प्रतिस्पर्धामा देखिएको छैन ।

अहिलेसम्म मनाङको चामे र नेस्याङ गाउँपालिकामा एमालेले जित हात पारिसकेको छ । मनाङमा यसअघिका चुनावमा उम्मेदवार समेत नपाउने एमालेले यसपटक चमत्कार गरेको छ ।

प्रारम्भिक रुझान हेर्दा पहिलो चरणको निर्वाचनको जनमत एमालेको पक्षमा देखिएको छ । मतगणना ढीलो र प्रारम्भिक अवस्थामा रहेकाले मुख्य पार्टीहरु आ- आफ्नो पक्षमा परिणाम आउनेमा आशावादी नै देखिएका छन् ।

यसअघि निर्विरोध भएको संख्या जोड्दा एमालेले तीन गाउँपालिका प्रमुख जितेको छ । कांग्रेसले एउटा गाउँपालिका प्रमुख निर्विरोध जितेको छ ।

एमालेले काठमाडौंको शंकरापुर, टोखा, नागार्जुन र किर्तिपुर नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै काभ्रेको बनेपा,नुवाकोटको बिदुर,नवलपरासीको गैंडाकोट,देवचूली पनि एमालेको अग्रता देखिएको छ ।

ललितपुर महानगरपालिकामा कांग्रेसले शुरुवाती अग्रता लिएको छ । त्यस्तै काठमाडौंको बुढानीलकण्ठ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसको अग्रता रहेको छ ।

त्यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ ।

त्यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
माओवादी केन्द्र काठमाडौंको चन्द्रागिरी नगरपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शुरुवाति अग्रताको अवस्थामा छ ।

गाउँपालिकाहरुको गणनामा पनि एमालेले अग्रता लिइरहेको छ भने कांग्रेसले पछ्याइरहेको छ । मतगणनाको अपडेट अनलाइनखबरले निरन्तर गरिरहेको छ ।

You might also like More from author