आर्थिकनीति तर्जुमा गर्न सुझाव संकलन गर्दै अर्थ मन्त्रालय

पोखरा, वैशाख ५ । अर्थ मन्त्रालयले देशको आर्थिकनीति तर्जुमाको लागि सरोकारवालाहरुसँग सुझाव संकलन गरेको छ ।

संविधान २०७२ ले राष्ट्रिय आर्थिकनीतिको परिकल्पना गरेअनुरुप यस्तो नीति बनाउन छलफल गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार राजधानीमा एक कार्यक्रम गरी आर्थिक क्षेत्रका जानकार, निजी क्षेत्रका संघ–संस्थालगायतसँग सुझाव संकलन गरेको हो ।

कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले संविधानले परिकल्पना गरेको दीर्घकालीन आर्थिकनीतिसहित आगामी बजेट कस्तो हुनुपर्ने विषयमा पनि सुझाव दिन आग्रह गरे ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकारको संयोजकत्वमा ९ सदस्यीय निर्देशक समितिको गठन भइ आर्थिकनीति निर्माण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशका ७ ओटामध्ये प्रदेश नम्बर ३ बाहेक सबै प्रदेशबाट सुझाव संकलन भएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा आर्थिकनीति तर्जुमा प्राविधिक समिति संयोजक हरि रोका, आर्थिकनीतिमा सेवा क्षेत्र विषयमा डा. रमेश पौडेल, आर्थिकनीतिमा औद्योगिक क्षेत्र विषयमा सुरेन्द्रलाभ कर्णले कार्यपत्र प्रस्तुत् गरेका थिए ।

You might also like More from author