पोखरा रंगशालामा विदेशीको श्रमदानमा स्केटिङ पार्क

पोखरा २ बैशाख । गर्मी हपक्कै छ । तैपनि काम भने निरन्तर गरिरहेका छन् । खाना खादाँ पनि काम भने रोकिएको छैन् । गर्मीले सताईरहेपनि कामलाई पनि टुग्याउने ध्याउन्न मात्रै छ । त्यसैले त तीन हप्ताभित्र सकेर उदघाटन गरी फर्कने लक्ष्यमा ३५ विदेशी विहानदेखि साँझसम्म पोखरा रंगशालाभित्र खटिरहेका छन् ।

पोखरा रंगशालामा स्केट पार्क(स्केटिङ खेलस्थल) निर्माण गरिएको छ । निर्माणको जिम्मेवारी भने पुरै विदेशीहरुले लिएका छन् । १२ देशका विदेशीहरुले श्रमदनमा नियमित आठघण्टा काम गरिरहेको छ । तीन वर्षपछि जापानमा ग्रीष्मकालिन ओलम्पिक हुदैं छ । त्यही ओलम्पिकमा पहिलो पटक स्केटिङ खेललाई पनि अफिसियल खेलको रुपमा समावेश गरिएको छ । तीन वर्षपछि ओलम्पिक खेलमा समावेश हुने लक्ष्य लिदैं पोखरामा स्केटिङ पार्क निर्माणलाई अन्तिम रुप दिन विदेशी श्रमदानमा जुटिरहेको छ । ‘खाली जमिनको सदुपयोग गरिएको छ ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले भने—‘स्केट पार्क निर्माणसँगै प्रशिक्षण समेत गराउने जिम्मेवारी पनि विदेशीले नै लिएका छन् ।’ झण्डै एक वर्ष प्रशिक्षक राखेर स्केटिङ खेल इच्छुकलाई प्रशिक्षण दिईने व्यवस्था खेलकुदले गर्ने छ ।

नेपाल स्केट क्लबका अध्यक्ष रामचन्द्र कोईरालाको संयोजकत्वमा विदेशी श्रमशक्तिले रंगशालाभित्र तीन साताभित्र सक्ने गरी निर्माण कार्य गरिरहेका छन् । अष्ट्रेलियाका इन्जिनियर समेत रहेका स्केटर वेडले पुर्वाधार नभएका देशहरुमा स्वयंसेवी रुपमा स्केट पार्क निर्माण गरिदैं आएको उल्लेख गरे । ‘लागत नबढोस भन्ने उद्देश्यले नै हामीले आफैं काम गरिरहेका छौं ।’ उनले भने । उनी स्केट प्लेयरसँगै डिजाईनर र इन्जिनियर समेत हुन् ।

केट क्लबका अध्यक्ष कोईरालाका अनुसार रंगशालाभित्र बन्ने स्केट पार्क अन्तराष्ट्रिय मापदण्ड अनुसार नै निर्माण गरिने छ । २० मिटर चौडाई र ४० मिटर लम्बाईको क्षेत्रफलमा स्केट पार्क बनाईदैं छ । स्ट्रिट, फ्रि स्टाईल र ¥याम्प गरी तीन विधाको पुर्वाधार तयार गरिने छ । प्रतिस्पर्धामा पनि घुमाउने, शरीरको सन्तुलन, जम्प र ल्याण्डिङ स्टाईल लगायतमा गरिन्छ ।

अन्तराष्ट्रिय मापदण्डको स्केट पार्क बनाउन झण्डै २० हजार डलर खर्च हुने अनुमान गरिएको छ । ‘पार्क बनाउन विदेशीहरुले आर्थिक सहयोग जुटाएका छन्’ अध्यक्ष पौडेलले भने—‘नर्वे, अष्ट्रेलिया , अमेरिका, डेनमार्क, थाईल्याण्ड लगायत विभिन्न देशबाट सहयोग संकलन गरिएको छ ।’

शुक्रबार अवलोकन गर्दै नेपाल ओलम्पिक कमिटिका सदस्य तेजबहादुर गुरुङले स्केटिङ अफिसियल खेलको रुपमा समावेश भएको उल्लेख गर्दै पोखरामा निर्माण गरिएको पुर्वाधारले खेलकुदको प्रवद्र्धनमा टेवा पुग्ने आशा र विश्वास व्यक्त गरे ।

स्केट छोटो दुरीको लागि आवातजावातको लागि प्रयोग समेत गरिने गरिएको छ । पोखरामा स्केटको व्यवसायिक विकास भने एक दशक भएको छ । तर खेल्न थालिएको भने दुई दशकभन्दा बढी समेत भईसक्यो । अन्तराष्ट्रिय मापदण्डको जिल्ला खेलकुदको मातहतमा निर्माण गरिएको स्केटिङ पार्क नेपालकै पहिलो हो ।

You might also like More from author